Dec 14, 2011

रंगशालामा सलमान र प्रियंका!

,
 आयोजकहरुको योजनाले मूर्त रूप लिएमा नेपाली दर्शकले राजधानीको दशरथ रंगशालामा बलिउड हिरोहिरोइन सलमान खान र प्रियंका चोपडाको मादक नृत्य हेर्न पाउनेछन्। भारतको साईबाबा टेलिफिल्मस् र थटवेभ मिडियाले मंगलबार नेपाल पर्यटन बोर्डमा बलिउड कार्यक्रम गर्ने प्रस्तावना पेश गरेका हुन्। 
 
'अन्ताक्षरी', 'छोटे उस्ताद' र 'म्युजिक का महामुकाबला' जस्ता कार्यक्रम गरिसकेको यो समूहका तर्फबाट मंगलबार विलाश सालुंखे, धीरज रैना र छत्र भट्टको उपस्थिति थियो। समूहले प्रस्ताव राखेको परियोजनामा माधुरी दीक्षित, शाहिद कपुर, अर्जुन रामपाल, जोन अब्राहम, रितेश देशमुख, श्रेयस तेल्पडे, रणवीर सिंह, सोनाक्षी सिन्हा र बोमन इरानीजस्ता अभिनेताअभिनेत्रीको नाम पनि समावेश छ। 

कार्यक्रमलाई सांगीतिक बनाउन शंकर एहसान लोय र फरहान अख्तर तथा अलिशा चिनाई र श्रेया घोसललाई आयोजकले टिममा राखेको छ। नेपालको तर्फबाट सूरसुधा समूहको प्रस्तुति कार्यक्रममा हुनेछ।
सलमानलाई एक्रोबेटिक, प्रियंकालाई बलिउड गीतमा नेपाली शैलीको र शाहिदलाई माइकल ज्याक्सन डान्स पस्किन लगाउने आयोजकको योजना छ। 

नेपाललाई बलिउड कार्यक्रम आयोजना स्थलको रूपमा आकर्षित गर्न यो प्रोजेक्टमा सहकार्य गर्न लागेको पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुभाष निरौलाले बताए। कार्यक्रमलाई सफल बनाउन बोर्डले सक्रिय भूमिका निर्वाह गर्नेछ।

नेपाल पर्यटन वर्षका संयोजक योगेन्द्र शाक्यले नयाँ दिल्लीमा हुन नसकेको ब्रायन एडम्सको कन्सर्टमा काठमाडौंमा भएकोले आयोजकलाई निर्धक्क हुन आग्रह गरे। भारतीय आयोजकलाइ आश्वस्त बनाउन कार्यक्रममा एसएसपी पूर्णसिंह खड्का र अध्यागमन विभागका महानिर्देशक सुधीरकुमार शाह पनि उपस्थित थिए। दुवैले आफ्नो तर्फबाट सहयोग गर्ने वचन दिए।

नेपाली निर्देशक तुलसी घिमिरे, नरेश पौडेल र नारायण पुरीले बलिउड र नेपालको सम्बन्धका बारेमा बोले। 
भारतीय समूहका तर्फबाट धीरज रैनाले काठमाडौंको मौसमअनुसार कार्यक्रमको मिति तोकिने बताए। उनका अनुसार चैत महिनामा कार्यक्रम हुने सम्भावना छ।

0 comments to “रंगशालामा सलमान र प्रियंका!”

Post a Comment

 

Online Post Copyright © 2011 | Template design by Mero Post | Powered by Blogger