विश्वविद्यालय लानुपर्ने प्रवेश परीक्षाको उत्तरपुस्तिका विश्वविद्यालयका पदाधिकारी र कलेजका सञ्चालक मिलेर काठमाडौँको होटलमा जाँचेको उजुरी परेपछि डिन रामकुमार सिंहलाई अख्तियारले आज नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले डिन सिंहलगायत शिक्षण सहायक नवीन भट्टराई र सह-प्राध्यापक मुक्तिनाथ भट्टराईलाई हिरासतमा राखेको जानकारी दिए।
शनिबार र आइतबार सो विश्वविद्यालयले लिएको हेल्थ साइन्स दोस्रो चरणको प्रवेश परीक्षा लिएको थियो। सोको उत्तर पुस्तिका काठमाडौँस्थित सम्पर्क कार्यालय लगेर त्यहाँबाट सीधै विश्वविद्यालयको विराटनगरस्थित केन्द्रीय कार्यालय लानु पर्ने थियो। तर हिजो काठमाडौँको गौशालास्थित होटल भिजनमा विद्यार्थीहरुले छरपस्ट अवस्थामा उत्तरपुस्तिका भेटाएपछि अख्तियारमा उजरी गरेका थिए।
उत्तरपुस्तिका होटलमा लगेर कलेज सञ्चालकहरुसँग बसेर जाँची घुस लिएर पास गर्न खोजेको उजुरी परेकोले त्यसमा छानबिन गर्न उनीहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले बताए।
Source Nagarik news


