- समग्र क्रान्तिसहित महान् जनयुद्धका वीर अमर सहिदहरुप्रति एक मिनेट मौन धारण गरी सम्मानपूर्वक भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
- अध्यक्ष क. प्रचण्डद्वारा प्रस्तुत “पार्टीको तात्कालिक कार्ययोजनाका सम्बन्धमा” शीर्षक प्रस्ताववारे व्यापक छलफल भयो र आवश्यक थपघट, संशोधन तथा परिमार्जन सहित विगतमा भएका मतभिन्नता कायमै रहने गरी सो कार्ययोजना पारित गरियो । सो प्रस्तावमा शान्ति, संविधान तथा सरकार, अन्तसंघर्ष र आगामी कार्ययोजनावारे लिइएका निर्णयहरुको मूल अन्र्तवस्तु तथा सारसक्षेप निम्न अनुसार रहेको छः
- शान्ति, संविधान र सहमतिको सरकार निर्माणका आधार निश्चित गरी अबिलम्ब अन्य राजनैतिक पक्षसँग परिणाममुखी वार्ताद्वारा निष्कर्षमा पुग्न विशेष जोड गर्ने निर्णय गरिएको छ ।
- राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा तथा संवेदनशील विषयलाई लिई सरकारद्वारा यथाशक्य सम्बोधन गराउन र अग्रगामी निकास सहितको शान्ति, जनताको संविधान तथा आमूल रुपान्तरणका लागि सडकबाट जनदबाव सृष्टि गर्न कार्यक्रम तथा कार्यतालिका बनाई भाद्र महिनाबाट प्रभावकारी रुपमा जनपरिचालनको अभियान सञ्चालन गर्ने निर्णय लिइएको छ ।
- सामूहिक नेतृत्व प्रणाली र कार्यविभाजनको प्रश्नलाई वैचारिक रुपले नै नयाँ उँचाइमा उठाई पार्टीलाई एकताबद्ध तुल्याउने आवश्यकता तथा केन्द्रीकरण र विकेन्द्रीकरणको द्वन्द्ववादमाथि ध्यानदिंदै पार्टीका महत्वपूर्ण जिम्मेवारीहरुको कार्यविभाजन गर्ने ठेगान भएको छ ।
- पार्टीको क्रान्तिकारी चरित्रलाई कायम राख्न तथा पार्टीमा एकता र विश्वासको वातावरणको विकास गर्न नेतृत्व तहबाट केही निश्चित विषयमा ध्यानदिई नयाँ आचार संहिता पारित गरिएको छ र त्यसलाई अबिलम्ब कार्यान्वयन गर्ने निर्णय लिइएको छ ।
- पार्टीद्वारा पारित नीति र कार्ययोजनावारे सिंङ्गो पार्टीभित्र एकरुपता कायम गरी कार्यान्वयन गर्नकालागि भाद्र महिनाको पहिलो हप्तासम्म राज्यस्तरीय प्रशिक्षण सम्पन्न गर्ने ।
- पार्टीमा विद्यमान वैचारिक बहस तथा मतभेदका विषयहरुवारे फोरम चलाउने तथा महाधिवेशनको प्रक्रियामा जाने र यसबारे ठोस निर्णय भाद्र १४ पछि सम्पन्न गरिने केन्द्रीय समितिको बैठकमा लिने ।
- पार्टीको आर्थिक आय–व्यय तथा स्रोत–साधनको सामूहिक व्यवस्थापन विधान अनुसार अर्थ तथा लेखा विभागलाई अविलम्म हस्तान्तरण गर्ने निर्णय लिइयो ।
- आगामी भाद्र १४ गतेसम्मका लागि नीतिगत रुपमा निर्धारित कार्ययोजनालाई स्थायी समितिको बैठकमा मूर्त बनाइने छ ।
- एक पद तथा एक प्रमुख जिम्मेवारीको मान्यता अवलम्बन गर्ने, आवश्यकता तथा योग्यतामाथि ध्यान दिने र विभिन्न प्रवृत्तिहरुलाई परिपूरक बनाउने मापदण्डका आधारमा सांगठनिक कार्यविभाजन गर्ने निर्णय लिइयो र त्यस अनुसार संगठनात्मक क्षेत्रमा आवश्यक कार्यविभाजन गरिएको छ । अन्त्यमा, देश, जनता तथा क्रान्तिका ऐतिहासिक कार्यभारहरु पूरा गर्नेबारे विशेष ध्यानदिंदैं र पार्टीलाई एकता, संघर्ष तथा रुपान्तरणका आधारमा एकताबद्ध तुल्याउँदै अगाडि बढ्न केन्द्रीय समिति शानदार रुपमा सफल रहेको संश्लेषण सहित अत्यन्तै सौहार्दपूर्ण वातावरणमा अध्यक्ष क. प्रचण्डद्वारा बैठकको समापन गरियो ।
१३ श्रावण २०६६
प्रचण्ड
अध्यक्ष एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति


